गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्ने उद्देश्यले आयोजित तीनदिने तालिम सम्पन्न भएको छ।
गेरुवा गाउँपालिका र सुरक्षित भविष्य परियोजनाको सहकार्यमा भदौ २१ देखि २३ गतेसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा प्राथमिक तहमा अध्यापनरत २६ जना शिक्षक सहभागी भएका थिए।
तालिममा शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको अवधारणा, बालकेन्द्रित तथा सहभागितामूलक शिक्षण विधि, विषयवस्तुलाई बालबालिकाको दैनिक जीवनसँग जोडेर सिकाउने तरिका तथा कक्षाकोठामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा प्रशिक्षण दिइएको थियो।
प्रशिक्षक नन्दकला खत्रीले सहजीकरण गर्नुभएको तालिममा सैद्धान्तिक ज्ञानसँगै समूहगत छलफल, अभ्यास, प्रस्तुतीकरण तथा कक्षाकोठामा प्रयोग गर्न सकिने व्यावहारिक विधिहरू अपनाइएको थियो।
कार्यक्रममा गेरुवा गाउँपालिकाका शिक्षा इकाइ प्रमुख नवराज अधिकारी, राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठ, सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक मनोज पौडेल तथा शिक्षा प्राविधिक अधिकृत सीमा ओलीको सहभागिता रहेको थियो।
शिक्षा शाखा प्रमुख अधिकारीले प्राथमिक तहका बालबालिकाको सिकाइलाई प्रभावकारी, व्यवहारिक र बालमैत्री बनाउन एकीकृत पाठ्यक्रमको सही कार्यान्वयन महत्वपूर्ण रहेको बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई नियमित कक्षाकोठाको अभ्यासमा रूपान्तरण गर्न सके बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो।
त्यस्तै, परियोजना संयोजक पौडेलले प्रारम्भिक तह बालबालिकाको सिकाइको आधार निर्माण हुने महत्वपूर्ण चरण भएकाले शिक्षकहरूको क्षमता अभिवृद्धिलाई परियोजनाले प्राथमिकता दिएको बताउनुभयो।
तालिममा सहभागी शिक्षकहरूले एकीकृत पाठ्यक्रमको अवधारणा र त्यसलाई कक्षाकोठामा प्रयोग गर्ने व्यावहारिक विधिबारे थप स्पष्टता प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सिकेको ज्ञान र सीपलाई विद्यालयमा प्रयोग गर्दै बालबालिकाका लागि सहभागितामूलक, सिर्जनात्मक, व्यवहारिक र आनन्ददायी सिकाइ वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
सुरक्षित भविष्य परियोजना बर्दियामा राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा सञ्चालन हुँदै आएको छ। परियोजनाले बालबालिका, किशोर–किशोरी तथा युवाका लागि सुरक्षित भविष्य निर्माणसँगै शिक्षा क्षेत्रमा स्थानीय सरकार र सरोकारवालासँगको सहकार्यमा क्षमता विकास तथा प्रणाली सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।