बर्दिया । नेपाल शिक्षक महासंघ नगर समिति गुलरियाले सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा प्रधानाध्यापकलाई उपलब्ध गराइँदै आएको थप प्रोत्साहन रकम कटौती गर्ने निर्णयप्रति आपत्ति जनाएको छ।
महासंघले गुलरिया नगरपालिकाका नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै प्रोत्साहन रकम कटौती गर्ने निर्णय तत्काल सच्याउन माग गरेको हो। बालविकास सहजकर्ता र विद्यालय कर्मचारी शिक्षा क्षेत्रका आधारशिला भएको उल्लेख गर्दै लामो समयदेखि निरन्तर सेवा दिँदै आएका उनीहरूको सुविधा कटौती हुँदा जीविकोपार्जनमा प्रत्यक्ष असर पर्नुका साथै पेशागत मनोबलसमेत कमजोर हुने महासंघले जनाएको छ।
नेपाल सरकारले बजेटमै व्यवस्था गरेअनुसारको रकम स्थानीय सरकारले उपलब्ध गराउनुपर्नेमा कटौती गरिनु न्यायसंगत नभएको महासंघको भनाइ छ। स्थानीय सरकार अभिभावकीय भूमिकामा रहेकाले शिक्षक तथा विद्यालय कर्मचारीको हकहित र मर्यादाको संरक्षण गर्नु उसको दायित्व भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
महासंघले गुलरिया नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत नगर शिक्षकको तलब–भत्ता राज्यले तोकेको न्यूनतम मापदण्डभन्दा निकै कम रहेको भन्दै समान तहमा कार्यरत स्थायी तथा राहत शिक्षकले प्राप्त गर्ने रकमसरह व्यवस्था गर्नसमेत माग गरेको छ।
त्यस्तै, सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दिँदै आएको थप प्रोत्साहन रकम कटौती गर्ने निर्णयप्रति पनि महासंघले आपत्ति जनाएको छ। विद्यालयको नेतृत्व र व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने प्रधानाध्यापकको प्रोत्साहन सुविधा कटौती गर्नु उचित नभएको महासंघको ठहर छ।
महासंघले ज्ञापनपत्रमा उठाइएका विषयसँग सम्बन्धित निर्णय तत्काल सच्याउन नगरपालिकासँग माग गरेको छ। माग सम्बोधन नगरी निर्णय यथावत् राखिए आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ।