असोज ९ देखि १२ गतेसम्म वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गर्दै बर्दियाको मधुवन नगरपालिकाले सम्भावित विपद् जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी बैठक सम्पन्न गरेको छ।
नगरप्रमुख तेजबहादुर भाटको अध्यक्षतामा बिहीबार बसेको बैठकमा नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो।
बैठकमा वर्षाका कारण हुनसक्ने बाढी, डुबान, कटान तथा अन्य विपद् जोखिमको पूर्वआकलन, जोखिमयुक्त क्षेत्रको पहिचान र आवश्यक पूर्वतयारीका विषयमा छलफल गरिएको थियो।
सम्भावित विपद्बाट नागरिकको जनधनको सुरक्षा गर्न सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने, विपद् आइपरेमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्ने र नगरपालिका, सुरक्षा निकाय तथा स्थानीय समुदायबीच प्रभावकारी समन्वय कायम गर्ने विषयमा विशेष जोड दिइएको छ।
विपद्को समयमा आवश्यक जनशक्ति तथा स्रोतसाधनलाई तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाउने र जोखिममा रहेका नागरिकलाई समयमै सचेत गराउने विषयमा समेत बैठकमा छलफल भएको थियो।
मधुवन नगरपालिकाले सम्भावित विपद् आउनुअघि नै आवश्यक सावधानी अपनाउन नगरवासीलाई आग्रह गर्दै जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गर्ने जनाएको छ।