Logo

बुधवार, कार्तिक १२ गते २०८३ / Wednesday, 2026-10-28

images
images

मधुवनमा यौन तथा प्रजनन स्वास्थ्य मेला, विद्यार्थीका सिर्जनात्मक सामग्रीदेखि महिनावारी स्वच्छतासम्म

  • 304
    SHARES
  •  

    मधुवन नगरपालिका–५ रामनगरस्थित आनन्द आधारभूत विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी मेला सम्पन्न भएको छ।


    ADVERTISEMENT

    images

    बालबालिका, किशोरकिशोरी तथा अभिभावकमा यौन तथा प्रजनन स्वास्थ्य, अधिकार, व्यक्तिगत सरसफाइ र सुरक्षित व्यवहारसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै समुदायमा रहेका हानिकारक सामाजिक अभ्यास न्यूनीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।

    प्लान इन्टरनेशनल नेपाल र कोइकाको आर्थिक सहयोग तथा मधुवन नगरपालिकाको समन्वयमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

    Untitled design (44).jpg

    मेलामा विद्यार्थीहरूले यौन तथा प्रजनन स्वास्थ्य, बालअधिकार, सरसफाइ र सुरक्षित व्यवहारसम्बन्धी कविता, गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। प्रस्तुतिमार्फत किशोरावस्थामा हुने शारीरिक परिवर्तन, स्वास्थ्यप्रति सचेतना तथा बालबालिकाको अधिकारसम्बन्धी सन्देश दिइएको थियो।

    विद्यार्थीहरूले आफैं निर्माण गरेका परम्परागत हस्तकलाका सामग्री तथा विज्ञान र गणित विषयसँग सम्बन्धित शैक्षिक सामग्री पनि विभिन्न स्टलमा प्रदर्शन गरेका थिए। यसले विद्यालयमा सिकेको विषयलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्नुका साथै विद्यार्थीको सिर्जनशीलता र स्थानीय ज्ञानलाई उजागर गरेको थियो।

    Untitled design (42).jpg

    मेलामा विद्यालयले महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी छुट्टै स्टल राखेको थियो। स्टलमार्फत महिनावारी प्राकृतिक शारीरिक प्रक्रिया भएको विषयमा जानकारी दिँदै व्यक्तिगत सरसफाइ, स्वच्छ सामग्रीको प्रयोग, सामग्रीको उचित व्यवस्थापन तथा महिनावारीका समयमा किशोरीलाई आवश्यक सहयोग र सम्मानजनक वातावरणबारे जानकारी दिइएको थियो।

    त्यस्तै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शैक्षिक सामग्री, शक्तिपुर आधारभूत स्वास्थ्य केन्द्रबाट उपलब्ध स्वास्थ्य सेवा तथा नेपाल रेडक्रस सोसाइटीका गतिविधि र सेवाबारे जानकारी दिने स्टलसमेत राखिएका थिए। विद्यार्थी, अभिभावक तथा सहभागीहरूले विभिन्न स्टलको अवलोकन गरेका थिए।

    Untitled design (43).jpg

    कार्यक्रममा वक्ताहरूले किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही र उमेरअनुकूल जानकारी उपलब्ध गराउन विद्यालयसँगै परिवारको भूमिका महत्वपूर्ण रहेको बताए। बालबालिकाले स्वास्थ्य तथा शारीरिक परिवर्तनका विषयमा जिज्ञासा राख्दा अभिभावकले लाज वा डरको वातावरण सिर्जना नगरी सहज रूपमा संवाद गर्नुपर्नेमा उनीहरूले जोड दिए।

    भोज, विवाह, व्रतबन्ध तथा जन्मदिनजस्ता सामाजिक कार्यक्रममा बालबालिकाको आवश्यकता, सुरक्षा र अधिकारलाई पर्याप्त ध्यान नदिँदा कतिपय हानिकारक अभ्यासले निरन्तरता पाउन सक्ने भन्दै अभिभावकलाई सचेत रहन आग्रह गरिएको थियो।

    Untitled design (41).jpg

    यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका बालविवाह, लैंगिक विभेद, यौन दुर्व्यवहार तथा हिंसाबाट बालबालिकालाई सुरक्षित राख्न परिवार, विद्यालय, समुदाय र स्वास्थ्य संस्थाबीच समन्वय आवश्यक रहेकोमा समेत जोड दिइएको थियो।

    आयोजकले मेला एकदिने सचेतना कार्यक्रममै सीमित नभई विद्यालय र समुदायको नियमित अभ्यासमा परिणत हुने अपेक्षा गरेको छ। किशोरकिशोरीले आफ्ना जिज्ञासा तथा समस्या खुलेर राख्न सक्ने वातावरण निर्माण, आवश्यक स्वास्थ्य सेवा तथा परामर्शमा पहुँच, महिनावारी स्वच्छताको नियमित व्यवस्थापन र अभिभावकसँग सहज संवादलाई निरन्तरता दिने आयोजकको अपेक्षा छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij