गेरुवा गाउँपालिकामा बालबालिका, किशोरकिशोरी तथा युवाको संरक्षण र सामाजिक रूपान्तरणका अभियानमा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले २५ सदस्यीय गेरुवा गाउँपालिका स्तरीय युवा सञ्जाल गठन गरिएको छ।
बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित परियोजनाको प्राविधिक सहयोगमा गेरुवा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको युवा सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम मार्फत सञ्जाल गठन गरिएको हो।
कार्यक्रममा गेरुवा गाउँपालिकाका विभिन्न युवा क्लब, किशोरी समूह, बाल क्लब तथा पूर्वसदस्य गरी ३८ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिका, किशोरकिशोरी तथा युवाको संरक्षण, गुणस्तरीय शिक्षा, बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण, मानव बेचबिखन रोकथाम, लैङ्गिक हिंसा न्यूनीकरण तथा हानिकारक सामाजिक अभ्यास नियन्त्रणलगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्दप्रसाद लामिछाने र राधाकृष्ण थारू जनसेवा केन्द्रका परियोजना संयोजक मनोज पौडेलले गर्नुभएको थियो। उहाँहरूले युवा सञ्जालको उद्देश्य, भूमिका र जिम्मेवारीबारे जानकारी दिँदै समुदायमा बाल संरक्षण तथा सामाजिक समस्याविरुद्ध युवाले खेल्न सक्ने भूमिकामाथि प्रकाश पार्नुभयो।
कार्यक्रमको अध्यक्षता गेरुवा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी शाखा अधिकृत रमा पुन मगरले गर्नुभएको थियो भने गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले युवाले आफ्नो अनुभव, सीप र नेतृत्व क्षमतालाई समुदायको हितमा प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले बालविवाह, लागुऔषध दुरुपयोग, मानव बेचबिखन, लैङ्गिक हिंसा तथा बाल संरक्षणजस्ता सवालमा समुदायस्तरबाटै सचेतना र अभियान आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकार, समुदाय र युवाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले यस्ता सामाजिक अभियानमा युवाको सक्रिय सहभागिता बढाउन गाउँपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमकै क्रममा गठन गरिएको २५ सदस्यीय युवा सञ्जालको अध्यक्षमा अदिती थारू चयन हुनुभएको छ। नवगठित सञ्जालले गाउँपालिकाका विभिन्न वडामा बालबालिका, किशोरकिशोरी तथा युवालाई संरक्षण, गुणस्तरीय शिक्षा, नेतृत्व विकास र सामाजिक अभियानमा सक्रिय बनाउने उद्देश्यले काम गर्नेछ।
सञ्जालले समुदायमा देखिएका बाल संरक्षण तथा सामाजिक समस्याबारे सचेतना अभिवृद्धि, समन्वय र पैरवी गर्ने तथा बालविवाह, लागुऔषध दुरुपयोग, मानव बेचबिखन, लैङ्गिक हिंसा र अन्य हानिकारक सामाजिक अभ्यासविरुद्ध अभियान सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा शाखा अधिकृत रमा पुन मगरले युवा सञ्जाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाअन्तर्गत सक्रिय संरचनाका रूपमा अघि बढाइने बताउनुभयो। उहाँले सञ्जालको क्षमता विकास, आवश्यक समन्वय तथा संस्थागत सुदृढीकरणका लागि शाखाबाट निरन्तर सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय तहको स्वामित्व र नेतृत्वमा युवा सञ्जाललाई दीर्घकालीन रूपमा संस्थागत गर्दै बाल संरक्षण, गुणस्तरीय शिक्षा र सामाजिक रूपान्तरणका अभियानमा युवाको नेतृत्व र सहभागिता बढाउने आधार तयार भएको आयोजकले जनाएको छ।