गेरुवा गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि शिक्षण आपुरण तथा द्रुत सिकाइ योजना (रियल प्लान) कार्यान्वयन तथा विस्तारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गेरुवा गाउँपालिका र बालबालिका, किशोर–किशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका २६ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षण आपुरण तथा द्रुत सिकाइ योजना विद्यालयमा कार्यान्वयन गर्ने प्रक्रिया, विस्तारको अवस्था तथा प्रभावकारी कार्यान्वयनका लागि विद्यालय नेतृत्वले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो। विद्यालयको आवश्यकता र विद्यार्थीको सिकाइ अवस्थालाई ध्यानमा राख्दै योजनालाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्ने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रमको सहजीकरण गेरुवा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारीले गर्नुभएको थियो। उहाँले विद्यालयमा योजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रधानाध्यापकको नेतृत्वदायी भूमिका महत्वपूर्ण हुने बताउँदै सिकाइ सुधारका लागि योजनालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो।
अभिमुखीकरण कार्यक्रमले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई शिक्षण आपुरण तथा द्रुत सिकाइ योजना कार्यान्वयनबारे थप स्पष्टता प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक सुधारका लागि योजनाबद्ध रूपमा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बालबालिका, किशोर-किशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना बर्दिया जिल्लाका ७ वटा पालिकामा राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा कार्यान्वयन भइरहेको छ।