विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्र कार्यरत करिब ५०० शिक्षकलाई विषयगत तथा तहगत रोस्टरमा आबद्ध गरेको छ।
शिक्षकहरूबीच ज्ञान, सीप, अनुभव र असल अभ्यासको नियमित आदानप्रदान गराउँदै पेशागत सहकार्यलाई संस्थागत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षकहरूलाई उनीहरूले अध्यापन गराउने विषय र तहका आधारमा समूहबद्ध गरी विषयगत तथा तहगत रोस्टर शिक्षक गठन गरिएको हो।
नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत करिब ५०० शिक्षक सहभागी कार्यक्रममा शिक्षकहरूले कक्षाकोठामा भोगिरहेका शिक्षण–सिकाइका चुनौती, प्रभावकारी शिक्षण विधि तथा असल अभ्यासबारे सामूहिक रूपमा सिक्ने र सिकाउने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।
नगरपालिकाका अनुसार रोस्टर शिक्षकहरूलाई आगामी दिनमा नियमित बैठक, विद्यालय तथा कक्षा अनुगमन, अनुभव आदानप्रदान, विषयगत छलफल र पेशागत सिकाइका गतिविधिमा परिचालन गरिनेछ। साथै, प्रभावकारी शिक्षण विधि तथा नवीनतम सिकाइ अभ्यासलाई एक विद्यालयबाट अर्को विद्यालयसम्म विस्तार गर्न रोस्टरले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रम नगरपालिकाका चारवटा क्षेत्रमा एकै समयमा समानान्तर रूपमा सञ्चालन गरिएको थियो। प्रत्येक क्षेत्रमा १०० भन्दा बढी शिक्षकको सहभागिता रहेको थियो।
गठन गरिएको रोस्टरमार्फत शिक्षकहरूलाई आवश्यकताअनुसार स्रोत तथा विज्ञ शिक्षकका रूपमा परिचालन गर्ने नगरपालिकाको योजना छ। यसले शिक्षकहरूबीचको सहकार्य र पेशागत सिकाइलाई बलियो बनाउँदै विद्यालय शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रम सुरक्षित भविष्य परियोजनाको सहकार्यमा सञ्चालन गरिएको हो। बर्दियामा सञ्चालित सुरक्षित भविष्य परियोजना राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) र बाँके युनेस्को क्लब (BUC) को संयुक्त पहल तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा कार्यान्वयन भइरहेको छ।
यो पहलले शिक्षकलाई कक्षाकोठामा अध्यापन गर्ने जनशक्तिमा मात्र सीमित नराखी एक–अर्काबाट सिक्ने, असल अभ्यास साझा गर्ने र विद्यालय सुधारमा सामूहिक नेतृत्व प्रदान गर्ने पेशागत सिकाइ समुदायका रूपमा विकास गर्ने आधार तयार गरेको छ।
नगरपालिकाले रोस्टरलाई नियमित र प्रभावकारी रूपमा परिचालन गर्न सके शिक्षकको क्षमता विकाससँगै कक्षाकोठाको शिक्षण सिकाइमा प्रत्यक्ष सुधार आउने अपेक्षा गरेको छ।